काठमाडाैं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा “राष्ट्रिय आर्थिक गणना, २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। बुधबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (SEJON), नेपाल आर्थिक पत्रकार संघ (नाफिज), महिला आर्थिक पत्रकार संघ (फेजा), नेपाल टेलिभिजन, रेडियो नेपाल तथा राष्ट्रिय समाचार समिति सहित करिब ३० जना सञ्चारकर्मीहरूको सहभागिता थियाे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित तथा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष भागवत भट्टराईको उपस्थिति रहेका थियाे भने कार्यक्रमको अध्यक्षता उप–प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माले गरेका थिए।
यसैगरी, उप–प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने ले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे भने राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी प्रस्तुति निर्देशक पृथ्वी विजयराज सिंजापतिले गरेका थिए ।
कार्यक्रममा बोल्दै लामिछानेले सञ्चार क्षेत्र आफैँ आर्थिक गणनाको महत्वपूर्ण उत्तरदाता तथा सरोकारवाला भएको उल्लेख गर्दै आफ्नो प्रतिष्ठानको विवरण उपलब्ध गराउनुका साथै अन्यलाई पनि सहभागी गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए। उनले पत्रकार क्षेत्रको सक्रिय सहभागिता बिना यो अभियान सफल हुन नसक्ने भन्दै सहकार्यको आवश्यकता औंल्याए।
छलफलका क्रममा उठेका जिज्ञासामा २०७५ र २०८२ को आर्थिक गणनाबीचको भिन्नता, घरायसी आर्थिक गतिविधि र रोजगारीको समेटाइ, निजी क्षेत्रको योगदान तथा सरकारी तथ्याङ्कको भूमिका लगायत विषयमा स्पष्ट पारियो। साथै YouTube, चलचित्र उद्योग, फोटो स्टुडियो तथा सामाजिक सञ्जालजस्ता नयाँ माध्यमहरूले सिर्जना गरेको आर्थिक योगदानलाई पनि गणनाको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याइएकाे थियाे।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष नितु पण्डितले राष्ट्रिय आर्थिक गणना सफल बनाउन शुभकामना दिँदै सञ्चार क्षेत्र र तथ्याङ्क निकायबीच समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। सही तथ्याङ्क र सूचनाका आधारमा मात्रै अर्थतन्त्रमा विभिन्न क्षेत्रको वास्तविक योगदान मापन गर्न सकिने उनको भनाइ थियो।
कार्यपत्र प्रस्तुत गर्दै निर्देशक पृथ्वी विजयराज सिंजापतिले राष्ट्रिय आर्थिक गणनाको उद्देश्य, महत्व, अवधारणा, तथ्याङ्क संकलनका विषयवस्तु तथा कार्यक्रम तालिकाबारे विस्तृत जानकारी दिए। उनले अनौपचारिक क्षेत्रलाई जति धेरै समेट्न सकिन्छ, त्यति नै देशको अर्थतन्त्र बलियो हुने उल्लेख गरे।
आर्थिकन्यूज
प्रतिक्रिया