काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
तीनै संस्था एकीकृत भएपछि ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट सञ्चालन हुने भएको छ। केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ भने हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल ले नै एकीकृत संस्थाको नेतृत्व गर्नेछन्।
हाल जीवन विकासको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजीमा युनिक नेपाल र मानुषीको पुँजी थपिँदा संस्थाको वित्तीय आधार अझ बलियो हुने देखिएको छ।
युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ। त्यस्तै मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । यसले कर्जा विस्तार, जोखिम व्यवस्थापन तथा सेवा विविधीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तीनै संस्थाले संयुक्त रूपमा झण्डै ५ लाख सदस्यलाई सेवा दिँदै आएका छन्। मर्जरपछि सेवा पहुँच, शाखा सञ्जाल तथा डिजिटल वित्तीय सेवामा उल्लेखनीय विस्तार हुने विश्वास गरिएको छ।
मर्जर प्रक्रिया अगाडि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ। समितिले नियामकीय स्वीकृति, सम्पत्ति तथा दायित्व मूल्यांकन लगायतका काम तीव्र बनाउने जनाएको छ। योजना अनुसार २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया