शीर्षकहरू

तरलता थुप्रिँदा बैंक ब्याजदर थप घट्यो, वैशाखमा औसत ४.४ प्रतिशतमा झर्‍यो

तरलता थुप्रिँदा बैंक ब्याजदर थप घट्यो, वैशाखमा औसत ४.४ प्रतिशतमा झर्‍यो

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता उच्च रहँदा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन्। वैशाख २०८३ का लागि सार्वजनिक नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ४.४ प्रतिशतमा झरेको छ, जुन चैतको ४.४९ प्रतिशतभन्दा कम हो। एक महिनामै करिब ०.०९ प्रतिशत विन्दुले ब्याजदर घटेको हो।

नेपाल राष्ट्र बैंकको नीतिगत सहजता, कर्जाको मागमा देखिएको सुस्तता र बैंकिङ प्रणालीमा थुप्रिएको लगानीयोग्य रकमका कारण ब्याजदर ओरालो लागेको हो।

वैशाखका लागि २० वाणिज्य बैंकमध्ये करिब एकतिहाइले ब्याजदर घटाएका छन् भने अधिकांशले यथावत् राखेका छन्। एभरेष्ट, कुमारी, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, सिद्धार्थ र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्।

यता नेपाल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने अघिल्लो महिनाकै दर कायम राखेका छन्।

कृषि विकास बैंकले भने ब्याजदरमा सामान्य वृद्धि गरेको छ।

चैत महिनामा चार बैंकले ५ प्रतिशतसम्म ब्याजदर दिएका थिए। तर वैशाखदेखि त्यो स्तर घटेर एक बैंकमा सीमित भएको छ। अहिले ५ प्रतिशत ब्याजदर दिने एक मात्रै बैंक एनएमबि बैंक रहेको छ।

हिमालयन बैंकले सबैभन्दा धेरै कटौती गर्दै ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारेको छ। सिटिजन्स बैंकले ०.३५ प्रतिशत विन्दु घटाएको छ भने एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले पनि ०.२५ प्रतिशतका दरले ब्याजदर घटाएका छन्।

हाल अधिकांश बैंकको ब्याजदर ४ प्रतिशतदेखि ४.७५ प्रतिशतको दायरामा सीमित भएको छ।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटेको छ। वैशाखका लागि औसत ब्याजदर ३.२३ प्रतिशत कायम भएको छ, जुन चैतको ३.२९ प्रतिशतभन्दा कम हो।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार अहिले बजारमा ‘पैसा छ तर कर्जा माग छैन’ भन्ने अवस्था देखिएको छ। बैंकहरूसँग करिब १२ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ, तर उद्योग–व्यवसाय विस्तारमा उत्साह नदेखिँदा कर्जा प्रवाह बढ्न सकेको छैन। कम ब्याजदरका बाबजुद पनि ऋण नलिने प्रवृत्तिले आर्थिक गतिविधि सुस्त भएको संकेत गरेको छ।

विश्लेषकहरूका अनुसार निकट भविष्यमा ब्याजदर स्थिर रहने वा अझै केही घट्ने सम्भावना छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर बजारबाट रकम खिचिरहेको भए पनि समग्र माग कमजोर रहँदा ब्याजदरमा दबाब कायमै रहने देखिएको छ।

ब्याजदर घट्नु सामान्यतः लगानीका लागि सकारात्मक मानिन्छ। तर अहिलेको सन्दर्भमा यो अर्थतन्त्रमा माग कमजोर रहेको संकेतका रूपमा हेरिएको छ। बैंकमा पैसा थुप्रिए पनि उत्पादन र लगानीमा रूपान्तरण हुन नसक्दा अर्थतन्त्र ‘लो ग्रोथ–लो डिमाण्ड’ को चक्रमा फसेको विश्लेषण गरिएको छ।

null

प्रतिक्रिया