काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न बोलपत्र आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि बोलपत्र पेश गर्न सक्नेछन् भने कुल आह्वान रकमभित्र रहने गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
बोलपत्र बहुब्याजदरमा पनि पेश गर्न सकिनेछ। प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले पछिल्लो समय निरन्तर यस्तो उपकरणमार्फत बजारबाट तरलता खिच्दै आएको छ। बैंकहरूसँग लगानीयोग्य रकम अत्यधिक जम्मा भइरहेका बेला कर्जा माग सुस्त देखिएकाले तरलता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
राष्ट्र बैंकको यो कदमले अल्पकालीन रूपमा बजारमा रहेको अतिरिक्त तरलता घटाउने तथा ब्याजदरलाई स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया