शीर्षकहरू

टोकियोमा नेपाल-जापान थिंक ट्याङ्कबीच रणनीतिक संवाद : बौद्धिक कूटनीति र सहकार्य विस्तारमा जोड

टोकियोमा नेपाल-जापान थिंक ट्याङ्कबीच रणनीतिक संवाद : बौद्धिक कूटनीति र सहकार्य विस्तारमा जोड

काठमाडौं/टोकियो। नेपाल र जापानबीचको बौद्धिक कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (जीआईआईए) बीच टोकियोमा उच्चस्तरीय रणनीतिक परामर्श बैठक सम्पन्न भएको छ ।

जीआईआईएका अध्यक्ष केनिचिरो सासाएको आतिथ्यमा सम्पन्न उक्त बैठकलाई दुवै देशबीचको नीति अनुसन्धान, संवाद र थिंक ट्याङ्क सहकार्य विस्तारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

आईआरजीडीडी प्रतिनिधिमण्डलको नेतृत्व नेपालका पूर्व राजदूत तथा संस्थाकी अध्यक्ष डा. शर्मिला प्रमिला ढकालले गरेका थिए । ओमान र स्पेनका लागि पूर्व राजदूतका रूपमा कार्यरत रहँदा पनि उनले नेपालको कूटनीतिक पहुँच विस्तार, अन्तर्राष्ट्रिय संवाद र अनुसन्धानमुखी कूटनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छन । 

बैठकमा डा. ढकालले जटिल बन्दै गएको अन्तर्राष्ट्रिय परिवेशमा बौद्धिक कूटनीतिको बढ्दो महत्व औंल्याउँदै थिंक ट्याङ्कहरूको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक सुदृढीकरण, सुशासन र युवा जनशक्तिमा आधारित नेपालको विकास दृष्टिकोणप्रति प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा नेपाल–जापानबीचको दीर्घकालीन मित्रता र आपसी विश्वासमाथि जोड दिइयो । डा. ढकालले पूर्वाधार विकास, शिक्षा तथा क्षमता विकासमा जापानले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै त्यसले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे।

बैठकमा आर्थिक कूटनीति, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन तथा नीति अनुसन्धानजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

दुवै संस्थाबीच नियमित संवाद, ज्ञान आदान–प्रदान र अनुसन्धान सहकार्यलाई संस्थागत गर्ने विषयमा सहमति भएको छ । छलफलले क्षेत्रीय तथा विश्वव्यापी विकासक्रममा साझा दृष्टिकोण निर्माण गर्दै नीति अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।

आईआरजीडीडीलाई संवाद प्रवर्द्धन र विद्वान, नीति निर्माता तथा संस्थाहरूबीच सहकार्य विस्तार गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको थियो ।

जीआईआईएका अध्यक्ष केनिचिरो सासाएले आईआरजीडीडीको पहलको प्रशंसा गर्दै निरन्तर संवाद र ज्ञान आदान–प्रदानले अन्तर्राष्ट्रिय समझदारी मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । बैठकले निरन्तर सम्पर्क, बौद्धिक आदान–प्रदान र संयुक्त सहकार्यलाई अघि बढाउने साझा समझदारीसहित निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया