शीर्षकहरू

घरजग्गा बजारमा पुनः चलायमानता- कर्जा विस्तार, बैंकिङ लगानी मजबुत

घरजग्गा कर्जा १.७ गुणाले बढेर पौने ३ खर्ब नाघ्यो

घरजग्गा बजारमा पुनः चलायमानता- कर्जा विस्तार, बैंकिङ लगानी मजबुत

काठमाडौं । पछिल्लो समय सुस्त देखिँदै आएको नेपालको घरजग्गा (रियल–स्टेट) बजारमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले पछिल्ला वर्षहरूमा देखिएको मन्दीपछि बजार पुनः चलायमान हुँदै गएको संकेत गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको त्रैमासिक तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढाव भए पनि समग्र प्रवृत्ति सुधारतर्फ उन्मुख देखिएको छ । विशेषगरी २०८१/८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या करिब ४ लाख ५६ हजार पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

तथ्याङ्कले घरजग्गा बजारमा स्पष्ट मौसमी ढाँचा देखाएको छ । मनसुनको प्रभावका कारण पहिलो त्रैमासमा कारोबार घट्ने, त्यसपछि क्रमशः वृद्धि हुँदै तेस्रो र चौथो त्रैमासमा उच्च विन्दुमा पुग्ने प्रवृत्ति दोहोरिएको छ ।

विश्लेषकहरूका अनुसार यो मौसमी उतारचढाव पुरानै भए पनि पछिल्ला त्रैमासहरूमा देखिएको वृद्धि दरले माग पुनः सक्रिय हुन थालेको संकेत दिन्छ । विशेषगरी चौथो त्रैमासमा देखिएको तीव्र वृद्धि बजारमा उपभोक्ता आत्मविश्वास पुनः फर्किन थालेको रूपमा व्याख्या गरिएको छ ।

घरजग्गा कारोबारको महत्वपूर्ण सूचक मानिने लिखत पास (राजीनामा) संख्या पनि उल्लेख्य रूपमा बढेको छ । पछिल्ला तीन आर्थिक वर्षमा औसत त्रैमासिक ८७ हजारभन्दा बढी राजीनामा कारोबार भएकोमा २०८१/८२ को चौथो त्रैमासमा मात्र १ लाख १४ हजार ७६९ वटा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।

यो वृद्धिले बैंकिङ प्रणालीमा तरलता सुधार, ब्याजदरमा आएको स्थायित्व र लगानीकर्ताको पुनः प्रवेशलाई संकेत गर्ने विश्लेषण गरिएको छ ।

प्रदेशगत तस्वीर : मधेस अग्रस्थानमा, बागमती मूल्यमा बलियो

राष्ट्र बैंकको विस्तृत अध्ययनले नेपालका प्रदेशहरूबीच घरजग्गा कारोबारमा ठूलो असमानता देखाएको छ ।

कारोबार संख्याका आधारमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ । त्यहाँ विशेषगरी २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी हुने गरेको पाइएको छ । लुम्बिनी प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो स्थानमा रहेका छन्।

तर, घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश स्पष्ट रूपमा अग्रस्थानमा छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रका २.५ देखि १० आनासम्मका साना प्लटहरूमा उच्च माग रहँदा समग्र मूल्य स्तर बागमतीमा बढी देखिएको हो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गा कारोबार अझै न्यून स्तरमै सीमित रहेको तथ्याङ्कले देखाएको छ ।

राजस्वमा उतारचढाव, तर पुनः सुधारतर्फ

घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्व पनि पछिल्ला वर्षहरूमा अस्थिर देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब  २३.७ अर्ब पुगेको राजस्व त्यसपछि घट्दै गए पनि पछिल्लो समय पुनः सुधार हुँदै २०८१/८२ मा करिब र१५ अर्बको हाराहारीमा पुगेको छ ।

विशेषज्ञहरूका अनुसार यो सुधारले कारोबार विस्तारसँगै सरकारी आम्दानी पनि स्थिर हुँदै गएको संकेत गर्छ, यद्यपि अझै पूर्व-मन्दी स्तरमा पुग्न बाँकी छ।

null

घरजग्गा कर्जा विस्तार : बैंकिङ लगानी मजबुत

राष्ट्र बैंकको तथ्याङ्कले पछिल्ला पाँच वर्षमा घरजग्गा क्षेत्रमा बैंकहरूको लगानी उल्लेख्य रूपमा बढेको देखाएको छ । यस अवधिमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । यसले बैंकिङ प्रणालीमा रियल–स्टेट क्षेत्रको प्रभाव अझै बलियो रहेको पुष्टि गर्छ ।

राष्ट्र बैंकका अनुसार नेपालको घरजग्गा (रियल–स्टेट) कर्जा पछिल्ला पाँच वर्षमा १.७ गुणाले वृद्धि हुँदै करिब र २ खर्ब ७५ अर्ब ९६ करोड (पौने ३ खर्ब) पुगेको छ । यद्यपि समग्र वृद्धि भए पनि पछिल्लो चरणमा कर्जा विस्तारको गति सुस्त हुँदै गएको देखिएको छ ।

‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्ति सम्बन्धी तथ्यांक’ अनुसार २०७८/७९ को पहिलो त्रैमासमा घरजग्गा कर्जा  १ खर्ब ६० अर्ब ३६ करोड रहेकोमा पछिल्ला वर्षहरूमा निरन्तर विस्तार हुँदै हालको स्तरमा पुगेको हो ।

प्रतिवेदनले कर्जा विस्तार निरन्तर बढे पनि यसको वृद्धि दर स्थिर नरहेको देखाएको छ । २०७८/७९ को पहिलो त्रैमासमा वार्षिक वृद्धि दर २४.५ प्रतिशतसम्म पुगेको थियो भने पछिल्ला चार आर्थिक वर्षमा औसत त्रैमासिक वृद्धि दर २.७० प्रतिशत र वार्षिक औसत १२.४८ प्रतिशतमा सीमित भएको छ ।

२०८१/८२ को चौथो त्रैमासमा देखिएको वृद्धि दर ऐतिहासिक औसतभन्दा कम रहेको राष्ट्र बैंकको निष्कर्ष छ । यसले घरजग्गा कर्जाको मागमा क्रमशः कमी आउन थालेको संकेत गरेको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दै आएका छन् । न्यूनतम २० लाखदेखि माथि विभिन्न स्किममार्फत कर्जा वितरण भइरहेको छ ।

null

बजारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैंकले अब घरजग्गा मूल्य सूचकाङ्क सार्वजनिक गर्ने तयारी गरेको छ । यो सूचकाङ्कले जग्गा मूल्यको वास्तविक प्रवृत्ति मापन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार यसले बजारमा देखिने कृत्रिम मूल्य वृद्धि र अस्थिरतालाई नियन्त्रण गर्न नीतिगत आधार प्रदान गर्न सक्छ ।

समग्र तथ्याङ्कले नेपालको घरजग्गा बजार पूर्ण रूपमा स्थिर नभए पनि सुधारको चरणमा प्रवेश गरेको देखाउँछ । कारोबार संख्या बढ्नु, लिखत पासमा ऐतिहासिक वृद्धि हुनु र बैंकिङ कर्जा विस्तारले बजारमा पुनः विश्वास फर्किन थालेको संकेत गर्छ । तर, प्रदेशगत असमानता, मूल्य अस्थिरता र मौसमी निर्भरता अझै प्रमुख चुनौतीका रूपमा कायम छन् ।

 

प्रतिक्रिया