काठमाडौं । उद्योग विभागले पेटेन्ट तथा डिजाइन दर्ता र नवीकरण प्रक्रियाका लागि थप ९० दिनको समय प्रदान गरेको छ । औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइलहरू आगजनी र तोडफोडका कारण नष्ट भएपछि अवरुद्ध बनेको सेवा सुचारु गर्न समयसीमा थप गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार २०८२ भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण शाखामा रहेका महत्त्वपूर्ण भौतिक अभिलेख जलेर नष्ट भएका थिए । त्यसपछि पेटेन्ट, डिजाइन दर्ता तथा नवीकरणसम्बन्धी कार्य प्रभावित भएको थियो ।
यसअघि २०८२ असोज ३० गते सूचना प्रकाशित गर्दै सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजातसहित पुनः फाइल खडा गर्न ९० दिनको समय दिइएको थियो । तर सेवाग्राहीबाट पर्याप्त समय नभएको भन्दै थप समयको माग भएपछि विभागले पुनः ९० दिनको अवधि विस्तार गरेको हो ।
अब यस अवधिभित्र सम्बन्धित निवेदकहरूले आवश्यक कागजात संलग्न गरी पुनः निवेदन पेश गर्नुपर्नेछ ।
विभागले तोकिएको समयभित्र निवेदन पेश नभएमा वा पेश भएका कागजातबाट आवश्यक प्रमाण पुष्टि हुन नसकेमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। आगजनीपछि अवरुद्ध बनेको औद्योगिक सम्पत्ति दर्ता प्रक्रिया क्रमशः पुनः व्यवस्थित गर्दै लैजाने तयारी भइरहेको विभागले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया