शीर्षकहरू

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना : युवा सहभागिता सकारात्मक, देश ‘प्रयोगशाला जस्तै’ बनेको टिप्पणी

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले राज्य सञ्चालन र राजनीतिक प्रक्रियामा युवा पुस्ताको बढ्दो सहभागितालाई भने सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।

पूर्वराजा शाहले शिक्षित, प्रविधिमा दक्ष र देशको यथार्थ बुझ्ने युवाहरूको सक्रिय भूमिका राष्ट्र निर्माणका लागि निर्णायक हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार नयाँ पुस्ताको नेतृत्व क्षमता र आधुनिक सोचले मुलुकलाई प्रगतिपथमा अघि बढाउन सक्छ ।

उनले विगत केही वर्षयता देश अपेक्षित विकासको दिशामा अघि बढ्न नसकेको उल्लेख गर्दै राजनीतिक तथा प्रशासनिक सुधारका प्रयासहरू सतही मात्र साबित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको निरन्तर खिचातानीका कारण राष्ट्रिय प्राथमिकता ओझेलमा परेको र मुलुक “प्रयोगशाला जस्तै प्रयोग हुँदै गएको” उनको आरोप छ ।

आर्थिक तथा सामाजिक अवस्थाप्रति संकेत गर्दै उनले हालको परिस्थितिमा सुधारका लागि छिमेकी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय मित्र शक्तिसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । साथै, आन्तरिक सुरक्षा अवस्था कमजोर हुँदा नागरिकले असुरक्षा र अभावको सामना गर्नुपरेको उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वराजा शाहले परनिर्भरता घटाउँदै आत्मनिर्भरता र स्वाधीनतामा आधारित विकास मोडेल अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले देशका प्राकृतिक स्रोत, साधन र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमार्फत राष्ट्रिय गौरव बढाउन सकिने बताएका छन् ।

उनले निषेध, द्वन्द्व र विभाजनकारी प्रवृत्तिले मुलुकलाई कमजोर बनाउने भन्दै सबै राजनीतिक शक्ति र सरोकारवालालाई संवाद, सहमति र सहकार्यको बाटो रोज्न आग्रह गरेका छन् ।

अन्त्यमा उनले नेपाललाई शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढेको देख्ने चाहना व्यक्त गर्दै सबै नेपालीले न्याय, शान्ति र समुन्नत जीवन प्राप्त गर्ने अपेक्षा राखेका छन् ।

 

प्रतिक्रिया