शीर्षकहरू

सिएनआई-उर्जा मन्त्री छलफल, विद्युत खपत रणनीति बनाउँदै सरकारः उर्जा मन्त्री

सिएनआई-उर्जा मन्त्री छलफल, विद्युत खपत रणनीति बनाउँदै सरकारः उर्जा मन्त्री

काठमाडौं ।  नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो । 

सो अवसरमा अध्यक्ष पाण्डेले विद्युत खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ्ग चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युतको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाए ।

नेपाल सरकारबाट स्वीकृती लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विद्युत खरिद सम्झौता (पीपीए) गर्न, विद्युतको आन्तरिक खपत बढाउने नीति लिन, जीवास्म इन्धन आधारित उद्योगलाई विद्युतमा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गरे । उनले वैकल्पिक उर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा जोड दिए । 

सो अवसरमा मन्त्री श्रेष्ठले समग्र उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । उनले विद्युतको निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताए ।

उनले सरकारले जलाशय तथा नविकरणीय उर्जा, विद्युत खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको बताए । उनल उर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेको बताए । 

छलफलमा उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए । 
 

प्रतिक्रिया